दफा ९७
कसुरसँग सम्बद्ध मालसामानको लिलाम विक्री तथा वन्दोवस्त
(१) सैनिक अदालतले मुद्दाको पुर्पक्षको क्रममा आपू समक्ष पेश भएको कसुरसँग सम्बद्ध मालसामानको सुरक्षा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सुरक्षाको लागि राखेको मालसामान सडी गली नासी जाने भएमा सैनिक अदालतले त्यस्तो मालसामान लिलाम बिक्री गरी प्राप्त हुन आएको रकम सरकारी खातामा आम्दानी बाँध्न आदेश दिन सक्नेछ ।
(३) सैनिक अदालतबाट मुद्दाको कारबाही समाप्त भएपछि त्यस्तो सैनिक अदालतबाट भएको ठहर सजायलाई सदर गर्ने अधिकारी वा सो अधिकृतभन्दा माथिको अधिकृतले र त्यस्तो सजाय सदर गराउनु नपर्ने सैनिक अदालतको ठहर भएपछि सेना, चमु, पृतना वा वाहिनीपतिले मुद्दाको पुर्पक्षको क्रममा सैनिक अदालत समक्ष पेश भएको कसुरसँग सम्बद्ध मालसामान, लिखत, जफत गर्न, नष्ट गर्न वा त्यसको हकदार भनी दावी गर्ने व्यक्तिलाई फिर्ता दिन वा बिक्री गर्न मनासिब माफिकको आदेश दिन सक्नेछ ।
(४) मुद्दाको पुर्पक्ष नेपालराज्यभित्र नभएको अवस्थामा उपदफा (१) बमोजिम आदेश जारी गर्ने अधिकारीले आदेशको नक्कल मालसामान रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष पठाउनु पर्नेछ र प्रमुख जिल्ला अधिकारीले पनि त्यस्तो आदेश बमोजिम काम तामेल गराउनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मालसामान” भन्नाले कसुरसँग सम्बद्ध मालसामानको हकमा शुरु कब्जा वा अधिकारभित्र रहेको मालसामान लगायत सो  मालसामान तुरुन्त वा पछि परिवर्तन गरी वा सटही गरी वा बिक्री गरी प्राप्त भए गरेको आम्दानी समेतलाई जनाउँछ ।